(१) दर्ता भएको व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
(२) नेपाल बाहिरको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्न दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका वखत वा सेवा प्राप्त भएको वखतमध्ये जुन पहिले हुन्छ सो समयमा कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
(२क) दर्ता नभएको कुनै व्यक्तिबाट ढुवानी साधन भाडामा लिने वा ढुवानी सेवा प्राप्त गर्ने दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यो ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका बखत वा सेवा प्राप्त भएको बखतमध्ये जुन पहिले हुन्छ सो समयमा कर. निर्धारण र असुल उपर गर्नु पर्नेछ।
(३) व्यावसायिक प्रयोजनको लागि निर्माण गरिने पचास लाख रुपैयाँभन्दा बढीको भवन वा अपार्टमेन्ट वा सपिङ कम्प्लेक्स वा विभागले तोकेका यस्तै प्रकारका अन्य संरचना दर्ता नभएको व्यक्तिबाट निर्माण गराएको भए तापनि त्यस्तो निर्माण दर्ता भएको व्यक्तिबाट गराए सरह मानी कर दाखिला गर्नु पर्नेछ । त्यसरी दाखिला नगरेमा सो संरचनाको स्वामित्व रहेका व्यक्तिबाट कर निर्धारण गरी असुल उपर गरिनेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “व्यवसायिक प्रयोजन” भन्नाले भवन अपार्टमेन्ट सपिङ कम्प्लेक्स वा विभागले तोकेका अन्य यस्तै संरचना निर्माण गरी बिक्री गर्ने एवं त्यस्ता संरचना चालु वा स्थायी सम्पत्तिको रुपमा लेखाङ्कन गरी आय आर्जनमा उपयोग गर्न कार्य सम्झनु पर्छ ।